काठमाडौं । ७८ लाख घुस डिल प्रकरणले नागरिक उन्मुक्ति पार्टीमा बबन्डर निम्तिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि घुस डिल प्रकरणमा मुछिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइसकेको छ ।
घुसकाण्डमा तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिइसकेका छन् । भूमिमन्त्री बलराम अधिकारीमाथि राजीनामाको दबाब बढेको छ ।
कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार धाइरहेकी पत्नी रञ्जितालाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केन्द्रीय समिति बैठकमा सहभागी भएर जवाफ दिनुपर्ने बताएका छन् ।
एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’
रञ्जिताले ‘मैले बोलाएको बैठक होइन, वैधानिक होइन’ भनेको अनलाइनमार्फत् थाहा पाएको बताउँदै रेशमले भनेका छन्, ‘यसो भनेर अध्यक्षजी पन्छिन पाउनु हुन्न । ओहो, साथीहरुले बैठक बोलाउनु भएछ, के कारणले बैठक बोलाउनु भएछ, उहाँले सोधीखोजी गर्नुपर्छ । उहाँ अध्यक्ष भइसके पछाडि हरेक सदस्य उहाँको परिवार हो । उहाँसँग प्रतिशोधको भावना राख्नु गलत कुरा हो ।’
रञ्जिताकै ग्रयान्ड डिजाइनमा ७८ लाख घुस डिल प्रकरण भएको रहस्य खुल्दै गएको छ । रञ्जिता भूमि व्यवस्थामन्त्री हुँदादेखि नै कास्कीको लिचीबारी जग्गा हत्याउन बिचौलियाले जोडबल गरेका थिए ।






