काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार फागुन २० देखि २३ गतेसम्म तथा २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइ हुने व्यवस्था गरेको जनाएको छ। अदालतले सम्बन्धित पक्षलाई तोकिएको समयमा उपस्थित भएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।






