काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ।

प्रसाईंको हकमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार (फागुन १९) उक्त आदेश जारी गरेको हो। अदालतले आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित जवाफसहित प्रसाईंलाई इजलाससमक्ष उपस्थित गराउन निर्देशन दिएको छ।

ADVERTISEMENT

प्रसाईंका तर्फबाट अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए। रिटमा प्रसाईंलाई गैरकानुनी रूपमा पक्राउ गरिएको जिकिर गरिएको छ।

प्रसाईंलाई फागुन १७ गते भक्तपुरबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध निर्वाचन बिथोल्न खोजेको आरोप लागेको प्रहरीले जनाएको छ।

अदालतमा उपस्थित गराइएपछि प्रसाईंलाई थुनामुक्त गर्ने वा नगर्ने विषयमा थप आदेश आउने अपेक्षा गरिएको छ। यसअघि पनि उनी विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

प्रसाईंले फागुन २१ गते हुने चुनाव बहिष्कार गर्ने घोषणा समेत गरेका छन्।