काठमाडौँ। कोटेश्वरबाट एक मेनपावर एजेन्ट अपहरणमा परेको घटना सार्वजनिक भएको छ। सामाखुसीस्थित मोबहिरा ओभरसिज मेनपावरमा काम गर्ने नवीन दमाई १५ माघमा अपहरणमा परेका हुन्।
प्रहरी वृत्त नयाँ बानेश्वरको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले अपहरणको आरोपमा आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। मुद्दा दर्ता हुनेमा कञ्चनपुर–शुक्लाफाँट–१२ का १९ वर्षीय सुरेश बोहरा, दोलखाको शैलुङ–३ का २१ वर्षीय विजय बस्नेत, कीर्तिपुर–१० का ४४ वर्षीय पदमकृष्ण महर्जन, सिन्धुपाल्चोक–बाह्रबिसे–८ का २१ वर्षीय कमल तामाङ, शैलुङ–३ का २१ वर्षीय सविन ठकुरी, बझाङ–थलारा–७ का २२ वर्षीय सुनिकल रोकाया, भक्तपुर–१० का ४४ वर्षीय शिवसुन्दर धौमटेल र मकवानपुर–भीमफेदी–४ का ३५ वर्षीय दिनेश महर्जन रहेका छन्।
घटनाका विवरण अनुसार नवीन १५ माघमा कोटेश्वर पुगेका थिए। उनका स्कुटरमा सवार समूहले रोक्यो, हेल्मेट निकालेर टाउकामा हानेर घाइते बनायो। त्यसपछि उनी ट्याक्सीमा राखेर गोकर्णेश्वरस्थित “स्काई लाइन” नामक रेस्टुरेन्टको तेस्रो तलाको कोठामा बन्धक बनाइएको थियो। अपहरणकारीले कुटपिट गर्दै फिरौती मागे।
पीडित नवीनले श्रीमती सरिता परियारको खाताबाट ५० हजार, ई–सेवा मार्फत ३० हजार र आफ्नै खाताबाट ५ हजार ७४८ रुपैयाँ ट्रान्सफर गरे। थप रकम माग्दा झुक्याएर छुट्न सफल भएको उनले बताए।
तीन वर्षदेखि मेनपावर एजेन्टको रूपमा काम गर्दै आएका नवीनले विदेश पठाउने प्रक्रिया सञ्चालन गरिरहेको भएपनि काम नगरी पैसा लिएर अपहरण तथा कुटपिट गरेको आरोप लगाएका छन्। उनीसँगै ग्रिस पठाउने काम गर्दै आएको विजय बस्नेतलाई पनि यस घटनासँग सम्बन्धित ठहर गरिएको छ।





