काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत आवश्यक पर्छ भन्ने उदाहरण बनेका छन् उत्तरी धादिङ, खनियाबास गाउँपालिकाका नारायण बहादुर गुरुङ। हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा लाईफ इन्स्योरेन्सको बनेपा रिजनमार्फत बीमा व्यवसाय गर्दै आएका छन्। उनले कम्पनीबाट हालसम्म ५ पटक एमडिआरटी (MDRT) हासिल गर्दै ३ पटक सीओटी (COT) बन्ने गौरव प्राप्त गरेका छन्।

गुरुङको बीमा यात्रा भने सहज थिएन। २०६१ सालमा अन्जानमै बीमा क्षेत्रमा प्रवेश गरे पनि उनले त्यतिबेला निरन्तरता दिन सकेनन्। जीवनको मोड फेरियो र झण्डै १० वर्ष वैदेशिक रोजगारीका क्रममा गल्फ मुलुकमा बिताए। धादिङबाट एसएलसी उत्तीर्ण गरी काठमाडौं आएका उनले अध्ययन नै छाडेर विदेशिएको स्मरण गर्छन्। लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर पुनः अध्ययनलाई निरन्तरता दिए। हाल उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्।

ADVERTISEMENT

उनको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीको आग्रहबाट सुरु भएको हो। बिहान कलेज जाने भएकाले पार्टटाइम रूपमा बीमा गर्न सकिने सुझावले उनलाई लाइसेन्स लिन प्रेरित गर्‍यो। “मैले खासै केही बुझ्या त थिइनँ, तर केही हुन्छ भने गरौँ न भन्ने लाग्यो,” गुरुङ भन्छन्। यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो।

ADVERTISEMENT

विदेशबाट फर्किएपछि भूकम्पपछिसम्म केही वर्ष अन्योलमै बिताए। त्यसपछि उनले बीमालाई पूर्णकालिन रूपमा अँगाले। साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुवाती दिनदेखि नै जोडिएका गुरुङ पछि टिमसहित सानिमामा प्रवेश गरे, जसले नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत पुग्यो। नयाँ कम्पनीमा अवसर र चुनौती दुवै हुने अनुभव सुनाउँदै उनले टिम निर्माणमा विशेष ध्यान दिए।

आजसम्म उनले साढे ७ सयभन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन्। हाल उनको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन्। केही अत्यन्त सक्रिय भए पनि केही निष्क्रिय रहेको स्वीकार गर्दै उनी भन्छन्, “सही मार्गदर्शन, अनुशासन र निरन्तरताले बीमा क्षेत्रमा जो–कोहीले पनि सफलता हासिल गर्न सक्छ।”

ADVERTISEMENT

गुरुङ बीमालाई केवल वित्तीय उत्पादनका रूपमा होइन, भोलिको सुरक्षित जीवनको आधारका रूपमा प्रस्तुत गर्छन्। उनी बीमालाई दैनिक जीवनसँग जोडेर बुझाउने प्रयास गर्छन्। “गाँस, बास, कपासपछि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य र शिक्षाका लागि बचत अनिवार्य हुन्छ,” उनी भन्छन्। नेपाली समाजका पारिवारिक दायित्व—छोराछोरीको शिक्षा, विवाह र भविष्य—लाई उदाहरण दिँदै बीमाको आवश्यकता स्पष्ट पार्ने उनको शैली प्रभावकारी मानिन्छ।

उनका अनुसार एउटै परिवारका चार सदस्यले १३ वटासम्म पोलिसी लिएको उदाहरण पनि छ। समय, आम्दानी र आवश्यकताअनुसार बीमालाई निरन्तरता दिन सकिने भएकाले यसप्रति आकर्षण बढ्दै गएको उनी बताउँछन्।

अन्तर्राष्ट्रिय स्तरको मान्यता एमडिआरटी उनको व्यवसायिक यात्राको महत्वपूर्ण उपलब्धि हो। सन् २०२२ देखि २०२६ सम्म लगातार ५ पटक एमडिआरटी दर्ता गरेका गुरुङले २०२२, २०२५ र २०२६ मा सीओटी हासिल गरेका हुन्। सानिमा रिलायन्स लाइफमा आबद्ध हुनु अघि काम गरेको कम्पनीमा पनि उनी एमडिआरटी क्वालिफाइड भए तापनि औपचारिक दाबी नगरेको बताउँछन्।

एमडिआरटी सम्मेलनमा सहभागी हुन २०२२ मा आवेदन दिए पनि अष्ट्रेलियाको भिसा नपाएको अनुभव उनीसँग छ। साथै, विश्वव्यापी मान्यताका लागि बुझाउनुपर्ने शुल्क नेपालजस्तो मुलुकका लागि खर्चिलो हुने उनी बताउँछन्।

गुरुङको दृष्टिमा बीमा जोखिम व्यवस्थापन मात्र होइन, परिवारको आर्थिक सुरक्षाको आधार हो। “केही परिआयो भने तपाईंको अनुपस्थितिमा परिवारले आर्थिक राहत पाउँछ,” उनी भन्छन्। बचत संस्कृतिको विकास आवश्यक रहेको औंल्याउँदै उनी थप्छन्, “थोरै कमाए थोरै बचत, धेरै कमाए धेरै बचत गर्ने बानी बसाल्नुपर्छ।”

गाउँबाट शहर, विदेशदेखि स्वदेश र संघर्षदेखि सफलता सम्मको यात्रा तय गरेका नारायण बहादुर गुरुङ आज नेपाली बीमा क्षेत्रमा सम्भावनाको सशक्त उदाहरण बनेका छन्। निरन्तरता, इमान्दारिता र सेवाभावका आधारमा उनले आफूलाई प्रेरणादायी रोलमोडलका रूपमा स्थापित गरेका छन्।