काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको राजनीति गर्न प्रतिबन्ध लगाइएपछि पक्ष विपक्षमा बहस जारी छ । एमालेमै पनि यो घटनाले तीव्र ध्रुवीकरण अगाडि बढेको छ । केहीले समर्थन र कसैले विरोध गरिरहेका छन् ।

भण्डारीकी सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी छिन् । मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्वराष्ट्रपति भण्डारीको सदस्यता रोक्ने निर्णय गरेपछि उनले सामाजिक सञ्जालवाट यस्तो टिप्पणी गरेकी हुन् । उषा मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष हुन् ।

‘तपाईहरूमध्ये कतिजना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें, तपाईहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले भनेकी छन् ।

ADVERTISEMENT

अहिलेको घटनाले पुष्पलालको परिवारले किन एमालेलाई नैतिक समर्थन पनि नगर्ने रहेछ भन्ने आफूलाई थाहा भएको उनले बताएकी छन् । ‘अनि आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’ हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैं देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोहीअनुरुप कोशिश गरियो।’

ADVERTISEMENT

उषाले ज्ञानको बोझ बिसाउने मौका दिएकोमा एमाले नेतृत्वलाई धन्यवाद दिएकी छन् । ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद,’ उनले भनेकी छन् ।

ADVERTISEMENT