काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेको र चुनावअघि कसैसँग गठबन्धन नहुने बताएका हुन्।
प्रवक्ता चालिसेले गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति र भ्रम पैदा गरेको दाबी गर्दै कांग्रेस कुनै पनि दलसँग चुनाव लक्षित भेटघाटमा समेत नरहेको स्पष्ट गरे। “चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन। हामी सबै क्षेत्रमा आफ्नै उम्मेदवारसहित दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि यो विषयमा सार्वजनिक रूपमा स्पष्ट पारिसक्नुभएको छ, त्यसैले कुनै भ्रममा नपर्न आग्रह गर्छु,” उनले भने।
उनले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नैतिकताको विषय नभएको पनि स्पष्ट गरे। चालिसेका अनुसार मन्त्रीको राजीनामा मानव अधिकारको विषय हुनसक्छ, तर मुख्य जिम्मेवारी भने सरकारको हो। “स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिक र दलको हो, र त्यो सुनिश्चित गर्ने कर्तव्य सरकारको हो,” उनले बताए।
त्यसैगरी उनले अधिनायकवादी प्रवृत्तिका शक्तिहरू मिठो र आकर्षक भाषणमार्फत अघि आउने भएकाले ‘नयाँ’ भन्ने नाराको भ्रममा नपर्न नागरिकलाई सचेत गराए। अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै उनले यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको जानकारी पनि दिए।
प्रवक्ता चालिसेले सामाजिक सञ्जाल तथा सार्वजनिक मञ्चमा विपक्षी दल र नेताहरूविरुद्ध घृणास्पद अभिव्यक्ति र अमर्यादित टिप्पणी बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोल्ने बताए। कांग्रेस यस्ता गतिविधिप्रति सचेत रहेको र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रतिस्पर्धामा रहने उनको भनाइ छ।







