काठमाडौं । पत्रकारिता गर्दागर्दै दलको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका ऋषि धमलाका अनेक हर्कतका भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।

रौतहट ४ मा प्रभु साह नेतृत्वकाे आम जनता पार्टीबाट उम्मेदवार बनेका धमला अहिले मतदातासँग मत माग्न घरघर र खेतबारीमा पुगेका छन् । जहाँ पुग्छन् त्यहाँ उनका गतिविधि देखेर सबै हाँस्छन् मात्र ।

ADVERTISEMENT

धमला प्राइम टेलिभिजनका मालिक हुन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा अतिथिहरुलाई असान्दर्भिक, तर रोचक प्रश्न गर्दै असिनपसिन बनाउने उनी यतिबेला भने आफै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर, उनको भेटघाटलाई समाजिक सञ्जालमा भने ट्रोल बनाइएको छ ।

ADVERTISEMENT

निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेट्न घरघरमा पुग्नु सामान्य नै हो । तर धमलाले भने स्थानीय मतदातासँग नजिक हुन अण्टसण्ट हर्कत देखाएपछि ट्रोलको सिकार भएका हुन् ।

स्थानीय भेट्न हिँडेका बेला उनले कहिले स्थानीयको साइकल थुतेर चलाउँछन्, त कहिले सेलरोटी हाल्न पुग्छन् । घरी फर्निचरमा पुगेर आरा लगाउँछन् त कहिले बाटोमा हिँडेका मानिसलाई अंगालो हाल्न पुग्छन् । धमलाका यस्ता भिडियो क्लिप्सलाई अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । ऋषिले श्रीमती एलिजा गौतमलाई आम जनता पार्टीको समानुपातिक बन्दसूचीमा पहिलो नम्बरमा राख्न सफल भएका छन् ।

ADVERTISEMENT

रौतहट ४ एउटै नेताले दोहोर्‍याएर चुनाव नजित्ने क्षेत्रका रूपमा परिचित थियो। तर २०७४ र २०७९ मा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएपछि यो रेकर्ड पनि तोडिएको थियो। २०७९ मा समानुपातिकतर्फ कांग्रेसले नै सबभन्दा धेरै १४ हजार २१८ मत ल्याएको थियो।

एमालेले ११ हजार २३१ मत ल्याएको थियो। तेस्रो बनेको माओवादीले ९ हजार ३१९ मत ल्याएको थियो। चौथोमा रहेको एकीकृत समाजवादीले ९ हजार १७९ मत पाएको थियो। जनता समाजवादी पार्टी नेपालले ६ हजार २०८ र रास्वपाले ५ हजार ७०७ मत ल्याएको थियो। गत निर्वाचनमा यो क्षेत्रको समानुपातिकतर्फ तेस्रो भएको माओवादी र चौथो भएको एकीकृत समाजावादी मिलेर अहिले नेपाली कम्युनिस्ट पार्टी बनेको छ। त्यतिबेला प्राप्त भोटलाई आधार मान्ने हो भने नेकपाको मत सर्वाधिक हुन्छ।