भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २७ वर्षीय प्रविण भण्डारीले धारिलो हतियार प्रयोग गरी ५० वर्षीया आमा सरिता भण्डारीमाथि आक्रमण गरेका थिए।
गम्भीर घाइते अवस्थामा सरितालाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रविणले आफैंलाई पनि धारिलो हतियारले चोट पुर्याएका थिए। उनी घाइते अवस्थामा फेला परेका हुन्। धनुषाको मिथिला नगरपालिका–११ स्थायी घर भई हाल तेर्सेटारमा डेरामा बस्दै आएका आमा–छोराबीच किन यस्तो घटना भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।







