काठमाडौं । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबिआई बैंकको शाखामा मंगलबार साँझ लुटपाट भएको छ। नकाब लगाएका व्यक्तिहरूको समूहले बैंकमा प्रवेश गरी कर्मचारी र सुरक्षाकर्मीमाथि आक्रमण गर्दै नगद रकम लुटेको हो।
प्रहरीका अनुसार करिब ६ देखि ७ जनाको समूहले हिजो साँझ करिब ७ बजे बैंकभित्र पसेको थियो। उनीहरूले पहिला बैंकमा कार्यरत सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरेका थिए। त्यसपछि अन्य कर्मचारीलाई नियन्त्रणमा लिएर हात बाँध्दै बैंकभित्र रहेको नगद उठाएर फरार भएका हुन्।
आक्रमणको प्रतिवाद गर्ने क्रममा घाइते भएका सुरक्षा गार्डको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बैंकबाट कति रकम लुटिएको हो भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।
सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार साँझ साढे ७ बजेतिर लुटपाट भएको जानकारी आएको थियो। “गार्डलाई कुटपिट गरी बैंकबाट नगद लुटिएको छ, ठ्याक्कै रकम कति हो भन्ने खुल्न बाँकी छ,” उनले बताए। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरिएको थियो ।
घटना भएको घ्याङलेख गाउँपालिका काभ्रेपलाञ्चोकसँग सीमा जोडिएको दुर्गम क्षेत्र भएकाले सुरक्षा चुनौती थपिएको उनि बताउछन। प्रहरीले लुटेराहरूको खोजी र घटनाको विस्तृत छानबिन अघि बढाएको जनाएको छ।