काठमाडौं। युवा नेता शंकर तिवारीले कांग्रेसलाई बाह्यभन्दा आन्तरिक रूपमा नै ठूलो खतरा रहेको बताएका छन्। उनले ‘कांग्रेसलाई कांग्रेसबाटै खतरा छ’ भन्दै आफ्नो नयाँ पुस्तक ‘चौबाटोमा कांग्रेस’ को विमोचन गरेका हुन्।
पुस्तक विमोचन कार्यक्रममा तिवारीले नेपाली कांग्रेसले २००७ सालमा वीपी कोइरालाले अघि सारेको सिद्धान्त र एजेण्डाजस्तै परिवर्तनकारी सोचलाई अहिलेको जेन–जी (Gen Z) आन्दोलनको सन्दर्भमा आत्मसात गर्न नसकेको आरोप लगाए। जेन–जी आन्दोलनबाट आएको राजनीतिक उभारलाई कांग्रेसले ४५ दिन बितिसक्दा पनि स्वीकार नगरे देशको राष्ट्रिय राजनीति परिवर्तन नहुने उनको भनाइ थियो।
उनले कांग्रेस समयअनुसार नबदलिए अब अगाडि बढ्न नसक्ने उल्लेख गर्दै जेन–जी आन्दोलनले ल्याएको विद्रोही चेतना र उथलपुथललाई आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याए।
तिवारीका अनुसार पुस्तकमा जेन–जी समूहसँग दल सुधार, संगठन रूपान्तरण र विचारको पुनर्निर्माणका विषय समेटिएका छन्। उनले कांग्रेस अहिले निर्णायक मोडमा रहेको र सही निर्णय नगरे पार्टी झन् कमजोर बन्दै जाने चेतावनी पनि दिएका छन्।
‘चौबाटोमा कांग्रेस’ पुस्तकले पार्टीभित्र चलिरहेको वैचारिक द्वन्द्व, नेतृत्व संकट र नयाँ पुस्ताको राजनीतिक आकांक्षालाई उजागर गर्ने प्रयास गरेको लेखक तिवारीले बताए।










