काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेस नेतृत्वसामु प्रश्नैप्रश्न राखेकी छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले लामो स्टाटस लेख्दै कांग्रेस पनि एमाले जस्तै मास डिप्रेसन बाँड्ने लाइनमा हो र ? भन्दै प्रश्न गरेकी छन् ।

जेनजी आन्दोलनको मर्म र भावनालाई एमालेले कुल्चेर हिँडे जस्तै कांग्रेसले त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिने कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिने त्यो हेर्न पर्खिरहेको उल्लेख गरेकी छन् ।

‘‘देशको युवापुस्ता घाइते भएको छ। निराशाको लामो औँसीबाट हामीले थोरै आशाको जून खोजिरहँदा, तपाईंहरूको यथास्थितिवादले सिंगो देशलाई मास डिप्रेसनमा पुर्‍याउने खतरा हामी देखिरहेका छौँ। एमालेले यो मास डिप्रेसन बाँड्दै हिँडिरहेकै छ।आफ्नै विधानलाई लत्याउदै, फेरि पुरानै नेतृत्वलाई निर्वाचित गरेर एमालेले आफ्नो बाटो रोजिसकेको छ। अब तपाईंहरू पनि त्यही बाटो लाग्दै देशको युवापुस्तालाई धोका दिनुहुन्छ, कि देशको भविष्य कोर्ने सुन्दर बगैँचा निर्माणमा आफ्नो तर्फबाट साथ दिनुहुन्छ। हामी त्यो हेर्न पर्खिरहेका छौँ,’ उनले भनेकी छन् ।

ADVERTISEMENT

बमले कांग्रेसमा पुरानो नेतृत्वको निरन्तरता जेनजीले नस्वीकार्ने भन्दै विशेष महाधिवेशनमा जान आग्रह गरेकी छन् । ‘आजको असाधारण राजनीतिक संकटमा असाधारण निर्णय आवश्यक छ, र त्यसका लागि विशेष महाधिवेशन अपरिहार्य छ। तपाईंहरूको आजको यात्राले नै तपाईंहरूको गन्तव्य तय गर्नेछ। याद रहोस्, चुनाव दैलोमै आइपुगेको छ, र यतिखेर मतदाताहरू परिवर्तनको पक्षमा आफ्नो मत खसाल्न तयार छन्,’ उनले लेखेकी छन् ।

ADVERTISEMENT

बमले जेनजी आन्दोलनले राजनीतिक ब्रेक गरेकाले अहिले नेपाली राजनीति धेरै पर पुगेको उल्लेख गरेकी छन् । ‘नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ। र अहिले हामी चुनावको संघारमा छौँ। भदौ २३ यत्तिकै आएको थिएन। लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम थियो भदौ २३। जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली काँग्रेस पनि भएकै हो। हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौँ र छौँ,’ उनले भनेकी छन् ।

ADVERTISEMENT

जेनजी अभियन्ता बमले आन्दोलनमा कांग्रेसभित्रकै जेनजी पनि सहभागी भएको उल्लेख गरेकी छन् । यतिखेर तपाईंहरू आफ्नै पार्टीभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा दुई खेमामा बाँडिनुभएको छ। हामी स्पष्ट छौँ, तपाईंहरू जो नियमित महाधिवेशनको नाममा यथास्थितिवाद रोजिरहनुभएको छ, तपाईंहरूले हाम्रो आन्दोलनलाई नै अस्वीकार गरिरहनुभएको छ। भदौ २३ मा काँग्रेसभित्रकै जेनजी साथीहरू पनि परिवर्तनको माग गर्दै सडकमा उत्रिनुभएको थियो। उहाँहरू आज पनि परिवर्तनको पक्षमा बोलिरहनु भएकै छ र तपाईंहरूले त्यो आवाज पनि निस्तेज पार्न खोजेको जस्तो देखिन्छ,’ उनले भनेकी छन् ।