कास्की। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको दीर्घकालीन पर्यटन विकासका लागि अन्तरदेशीय सडक तथा हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताएका छन् ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
उहाँले पोखराको समग्र विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल विस्तार र पोखराबाट सिधा अन्तरराष्ट्रिय उडान आवश्यक रहेको बताए। हवाई कनेक्टिभिटी पर्यटनसँग मात्र नभई भूराजनीतिक विषयसँग समेत जोडिएको उल्लेख गर्दै आगामी सरकारले यसलाई प्राथमिकताका साथ समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।
मन्त्री घिसिङका अनुसार पोखराबाट मुस्ताङ हुँदै चीनको कोरला नाकासम्मको सडक सुधार तथा कालोपत्रको काम अघि बढिरहेको छ । मुस्ताङदेखि कोरला नाकासम्मको करिब ५० किलोमिटर सडक कालोपत्र गर्न अर्थ मन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अगाडि बढाइएको जानकारी उहाँले दिए। यसले पर्यटन विकाससँगै चीनसँगको व्यापार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी पोखराका कुँडहरदेखि लेकसाइडसम्मका क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले पोल र तार हटाएर सुन्दर पोखरा निर्माणका लागि सरकार सक्रिय रहेको बताउनुभयो । साथै सङ्घीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङलगायतका पर्यटकीय गन्तव्यसम्म विद्युत् ग्रिड कनेक्टिभिटी विस्तारमा काम गरिरहेको जानकारी दिए।फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा सम्वर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने योजना रहेको पनि मन्त्री घिसिङले बताए।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेश सरकारले घरवास कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण तथा गन्तव्य प्रवर्द्धनमा जोड दिँदै आएको बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित गराउन पहल गरिदिन मन्त्री घिसिङसँग आग्रह गरे ।अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका अवसरमा आयोजना गरिएको पोखरा सडक महोत्सव फेवाताल किनारको लेकसाइडस्थित खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा पुस १७ गतेसम्म सञ्चालन हुने छ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार हालै देखिएका चुनौतीपूर्ण परिस्थितिका बाबजुद महोत्सवले दिगो पर्यटन प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । साथै ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव प्रभावकारी हुने आयोजकको विश्वास छ ।महोत्सवका संयोजक वसन्त गौतमका अनुसार महोत्सवमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रतियोगिता तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारहरूको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहने छन् ।