काठमाडौं । भदाै २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय पुनः निर्माणको काम तीव्र रूपमा अगाडि बढेको छ ।
प्रदर्शनकारीहरूले गरेको आगजनीका कारण कार्यालय भवनको सम्पूर्ण भाग जलेर पूर्ण रूपमा क्षति पुगेको थियो । आगलागीपछि गरिएको अनुगमनका क्रममा भवन पुनः निर्माणका लागि ठूलो आर्थिक क्षति भएको निष्कर्ष निकालिएको छ ।
अनुगमन टोलीका अनुसार भवन पुनः निर्माण तथा सवलीकरणका लागि मात्रै करिब १४ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका साथै आगलागीका कारण डकुमेन्ट, फर्निचर तथा विभिन्न मेसिनरी उपकरण गरी करिब ७ करोड रुपैयाँ बराबरको सामग्री नष्ट भएको जनाइएको छ ।

आगलागीबाट कार्यालयमा रहेका ९९ वटा एयर कन्डिसन (एसी) र करिब १५० वटा कम्प्युटरसहित अन्य आवश्यक सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
भवन पुनः निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन नेपाली कांग्रेसले सक्रिय सदस्य, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिका सदस्य र पार्टीका नेताहरूसँग आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको जनाएको छ ।
पार्टीले चुनाव पनि आउन लागेकाले कार्यालय पुनः निर्माणलाई प्राथमिकतामा राख्दै छिटोभन्दा छिटो काम सम्पन्न गर्ने तयारि गरेको छ ।






