काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासनका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ।
नेपाल धितोपत्र बोर्डको शुक्रबारको निर्णयअनुसार १५ दिनभित्र छानबिन प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।
बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा गठित समितिमा आनन्द राज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य छन्। समितिलाई आवश्यकताअनुसार अन्य व्यक्तिहरूलाई समेत आमन्त्रण गर्नसक्ने अधिकार दिइएको छ।
समितिले रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियामा भएका सम्पूर्ण गतिविधि र निर्णयहरूको अध्ययन–विश्लेषण गरी निष्पक्ष प्रतिवेदन तयार गर्ने जनाइएको छ। प्रतिवेदनका आधारमा आवश्यक निर्णय र कारबाही अघि बढाइने बोर्डले जनाएको छ। विदेशमा बस्ने नेपालीका लागि रिलायन्सको प्राइमरी सेयर निस्कासन भइसकेको छ । अब सर्वसाधारणलाई सेयर निस्कासन गर्ने तयारी छ ।








