काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले उपाध्यक्ष विश्वक्रान्ति, देवराज भनिने राजकुमार तामाङ लामालाई निलम्बन गरेका छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले आजैका मितिबाट अनुसन्धानको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि लामालाई निलम्बन गरिएको जनाएका छन् ।
अनुसन्धानको क्रममा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भनेर निलम्बन गरिएको उनले विज्ञप्तिमा बताएका छन् । हर्कले धेरै वर्षअघिको घटनालाई लिएर अहिले राज्यले रिस साँधेको आरोप पनि लगाएका छन् ।
मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले लामालाई काठमाडौंको कपनबाट पक्राउ गरेको हो। विस्फोटक पदार्थसम्बन्धी कसुरमा फरार देखिएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।
लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन्। १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विस्फोटमा तीनजनाको ज्यान गएको थियो। सो मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा छुटेका थिए।
छुटेपछि पनि फेरि उनीविरुद्ध पाँचथरमा मुद्दा दर्ता भएको थियो। जुन मुद्दामा उनी फरार देखिएपछि सिआइबीले पक्राउ गरेको हो। उनी धनकुटाको पार्खिवास–९ का स्थायी बासिन्दा हुन्।








