ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले हस्तकला क्षेत्रले देशको पहिचान बचाउँदै अर्थतन्त्रलाई चलायमान बनाएको बताएका छन् । नेपाल हस्तकला महासंघको ५३औं वार्षिकोत्सव तथा १४औं हस्तकला दिवसको अवसरमा आइतबार पाटन संग्रहालय, मंगलबजारमा आयोजित कार्यक्रममा मन्तव्य राख्दैँ मन्त्री सिन्हाले नेपालको कला, संस्कृति र सीपको जगेर्ना गर्ने संवाहकको रुपमा रहेको बताएका हुन् ।
‘नेपालको प्रत्येक कुनाकाप्चामा हस्तकला उद्योगले रोजगारी सृजना गरिरहेको छ, हस्तकलाको प्रवर्द्धनमा महसंघले खेल्दै आएको भूमिका महत्त्वपूर्ण छ, नेपाल सरकारले हस्तकला क्षेत्रमा आवश्यक नीतिगत र प्रकृयागत व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने छ।’ उनले भने ।
बागमती प्रदेशको उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले देशको अर्थतन्त्रलाई उकास्न हस्तकला क्षेत्रले महत्त्वपूर्ण योगदान दिएको बताउँदै बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताए । उनले १३ वटै जिल्लाका हस्तकला उद्यमीहरुले उत्पादन गरेका उत्पादनहरुलाई प्रोत्साहन गर्न प्रभावकारी कदम चाल्ने जानकारी दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका कार्यबाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले हस्तकला दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरे । उनले नेपाल विदेशी हस्तकलाको बजार बनिरहेको भन्दै स्वदेशी बस्तु तथा उत्पादनलाई प्रोत्साहन गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्यले हस्तकला उद्योगले रोजगार सृजना र निर्यातका लागि महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले हस्तकला क्षेत्रमा भएको ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गरि जीवन्त कयम राख्न जोड दिनुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट तीन निकासीकर्ता, गैरनिकासीकर्ता, उद्यमी र कलाकारलाई सम्मान गरिएको थियो ।






