काठमाडौं । आइएमई पे तथा खल्ती वालेट मर्ज भएर बिहीबारदेखि ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । एउटै एपमा समेटिएपछि साविकका एक करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही तथा पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।
ब्याज दिने एक मात्र वालेटको रूपमा चिनिएको आइएमई पे रेमिटेन्स, इन ड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो । खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ तथा आफ्ना इनोभेटिभ फिचरहरूका कारण रुचाइएको थियो ।
साबिक आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रियामार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।
आइएमई पे- आइएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । चारजना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वर्ल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ता आबद्ध भएका थिए ।
खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आइएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युगको थालनी गर्ने बताएका छन् । आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजना रहेको जानकारी दिएका छन् ।












