काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।

ADVERTISEMENT

महाशाखाले मौसम सफा रहेको जनाए पनि अहिले काठमाडौं उपत्यकाको आकाश बादलले ढाकेको छ । आज बिहानैदेखि लुम्बिनी, गण्डकी र बागमती क्षेत्रका अधिकांश स्थानमा आकाश आंशिक रूपमा बादलले ढाकिएको देखिएको छ, जसका कारण घाम पूर्ण रूपमा लाग्न सकेको छैन।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार दक्षिण भारतको तटीय क्षेत्रमा सक्रिय ‘सेन्यार’ नामक चक्रवातका केही बाहिरी भागहरू उत्तरतिर उछिट्टिएर हिमालय क्षेत्रमा प्रवेश भएपछि ती उच्च वायुमण्डलीय तहमा चिसिंदै फैलिएका छन् । यही कारण आज हल्का–फुल्का बादल देखिएको हो।

ADVERTISEMENT

‘केहीले शंका गर्नुभएजस्तो इथियोपियाको ज्वालामुखीको खरानीले गर्दा यसो भएको हैन । ज्वालामुखीबाट सिर्जित सल्फर डाईअक्साइड र केही खरानी नेपालको आकाशसम्म आइपुगे पनि यसको प्रभाव अति न्यून छ । बादलको घनत्व धेरै नदेखिएकाले मध्यान्हपछि मौसम क्रमशः खुल्दै जाने अनुमान छ। वर्षाको कुनै सम्भावना छैन,’ उपाध्यायले भने ।