काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत विद्युत् प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालस्थित अमेरिकी राजदूत डिन आर.थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन ।

सुनवल–सूर्यबस्तीदेखि भारत सीमासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको यो महत्वपूर्ण चरण अब गति लिने भएको छ। एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत सुरु गरिएको प्रसारण लाइन निर्माणले आन्तरिक बजारमा विद्युत् आपूर्ति सुदृढ गर्नुका साथै दक्षिण एसियाली क्षेत्रमा नेपालको ऊर्जा व्यापार क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ।

ADVERTISEMENT

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री खनालले विद्युत् प्रसारण प्रणाली सुदृढीकरणले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । तीन वर्षभन्दा कम समय बाँकी रहेको भन्दै उनले परियोजना समयमै सम्पन्न गर्न तदारुकताका साथ काम भइरहेको जानकारी पनि दिए ।

अमेरिकी राजदूत थम्प्सनले एमसिसीमार्फत सुरु भएको प्रसारण लाइन निर्माणले नेपालको हरित ऊर्जा सुरक्षा तथा ऊर्जा प्रवर्द्धनमा योगदान गर्ने उल्लेख गर्दै अमेरिकाले प्रविधि र लगानीमा निरन्तर सहयोग गर्दै आएको बताए। उनका अनुसार, परियोजना सफल कार्यान्वयनले नेपाल–अमेरिका विकास साझेदारीलाई अझ सुदृढ बनाउनेछ।

ADVERTISEMENT

निर्माणका लागि आवश्यक मुआब्जा वितरण पूर्ण रूपमा सम्पन्न भइसकेको छ। परियोजना अनुसार सुनवलदेखि भारत सीमा नाकासम्म ५३ वटा टावर निर्माण गरिनेछ। सबस्टेसन निर्माण ३९ महिनाभित्र, प्रसारण लाइन निर्माण भने २१ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण कार्यका लागि भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेकाले अब काममा थप गति आउने अपेक्षा गरिएको छ।