काठमाडौँ । साउन १ गतेदेखि ‘आइएमई खल्ती लिमिटेड’ देशकै ठूलो डिजिटल वालेट बन्दै छ । खल्ती र आइएमई पे एकआपसमा गाभिएर देशकै सबैभन्दा ठूलो र शक्तिशाली भुक्तानी सेवा प्रदायक बन्न लागेका हुन् ।

साउन १ गतेदेखि ‘आइएमई पे’ नाम औपचारिक रूपमा हट्नेछ र संयुक्त कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को नाममा सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा २४ वटा डिजिटल वालेट सञ्चालनमा छन् । तीमध्ये इसेवा, खल्ती र आइएमई पे सबैभन्दा बढी प्रयोग हुने वालेट हुन् । यो मर्जरपछि खल्ती ग्राहक संख्या र चुक्ता पुँजी दुवै हिसाबले देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बन्नेछ ।

मर्जरपछि खल्तीको कुल ग्राहक संख्या एक करोड २७ लाख पुग्नेछ, जसमा भेरिफाइड प्रयोगकर्ता मात्रै ५० लाख हुनेछन् । एकीकृत कम्पनीको चुक्ता पुँजी ५४ करोड पुग्नेछ । नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’मा आइएमई ग्रुपको ५५ प्रतिशत र खल्तीको ४५ प्रतिशत सेयर स्वामित्व रहने बताइएको छ ।खल्तीका सीईओ विनय खड्का नै एकीकृत कम्पनीको पनि सीईओ रहने छन् ।