काठमाडौँ । वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पुर्‍याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दुई वर्षअघि महामारीकै रूप धारण गरेको ‘लम्पी स्किन’ अघिल्लो वर्ष भने कम थियो ।

यस वर्ष कोशी प्रदेशको झापामा देखिएको सो सङ्क्रमण सो प्रदेशका सबै जिल्लामा पुगेको छ । कोशीमा झापा, इलाम, मोरङ र सुनसरीमा अरू जिल्लाभन्दा धेरै सङ्क्रमित रहेको र अरू जिल्लामा कम रहेको उहाँले बताउनुभयो । त्यसबाहेक बागमती प्रदेशको चितवन र धादिङ, मधेशको बारा, कर्णालीको रुकुमपश्चिममा सङ्क्रमण देखिएको पशुुसेवा विभागले जनाएको छ।

ADVERTISEMENT

विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ । वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख सात वटा नै प्रदेशमा पठाएको जानकारी दिनुभयो । चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ । हालसम्म प्रदेशमा पठाएको कुल खोपमध्ये आधा खोप पनि पशुलाई लगाइएको छैन ।