काठमाडौं । चलचित्र ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको छ । आइतबार निर्माण घोषणा गरिएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको लेखन रहने र कार्यकारी निर्मातामा श्रीधर पौडेल छन् । २०७५ सालमा प्रदर्शन भएको चलचित्र ‘गोपी’को टिमले दोस्रो सहकार्य गरेको हो । ‘गोपी’ सफल चलचित्र मानिन्छ ।

चलचित्रमा अभिनेता राज कटुवालको मुख्य भूमिका रहनेछ । उनी पछिल्लो पटक फिल्म ‘नरसिंहा अवतार’मा देखापरेका थिए ।

निर्देशक लामाले चलचित्रमा बाँकी कलाकारको विषयमा टिमसँग छलफल भइरहेको र केही दिनभित्र टुंगो लाग्ने बताए । डेब्यू निर्देशकीय फिल्म ‘घामपानी’देखि ‘दुःखी आत्मा’सम्म ६ वटा चलचित्र निर्देशन गरिसकेका लामा ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जक चलचित्रको रुपमा तयार पार्ने सोचमा छन् ।

कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन गरिने बताए । ‘पटकथा र प्रिप्रोडक्सनको काम पर्फेक्ट भएपछि मात्र छायांकनमा निस्किनेछौं । हामी राम्रो प्रोडक्ट निकाल्न धैर्यका साथ काम गर्नेछौं,’ उनले भने ।