विवाह ‘सात वचन’ र ‘सात फेरा’ को पवित्र बन्धन मानिन्छ। त्यो बन्धन प्रेम, विश्वास, धैर्य, सम्मान र समझदारीमा टिकेको हुन्छ । यसको धार्मिक र सामाजिक मूल्य मान्यता छ । विवाहमार्फत नै समाजको विकास हुन्छ । त्यसैले विवाह भन्नेवित्तिकै जीवनमा एक मात्र हुने धार्मिक संस्कारका रूपमा चिनिन्छ ।

तर आज विवाह एउटा ‘इभेन्ट’, ‘ट्रेन्ड’ र ‘ब्रान्ड शो’ मा सीमित हुँदै गएको छ। अब विवाहको अर्थ सम्बन्ध होइन फोटो, भिडियो र इन्फ्लुएन्सरको पोस्ट बनेको छ।

पहिले विवाहको तयारीमा सल्लाह हुन्थ्यो— ‘छोरीको मन रमाओस्, उसको जीवन सुखमय होस्।’
तर आज सल्लाह हुन्छ– ‘कुन ब्यान्क्वेट लिने,’ ‘कुन डिजाइनरको लहेंगा राम्रो देखिन्छ ।’ आदि इत्यादि ।
निम्तो पत्रभन्दा बढी ध्यान अब फोटोग्राफरको पोर्टफोलियोमा दिइन्छ।

ADVERTISEMENT

सबैको पहिलो प्रश्न

ADVERTISEMENT

– हल कहाँ बुक भयो ?
– लहेंगा कुन ब्रान्डको हो ?
– क्यामेराम्यान कस्तो छ र कति चार्ज गर्छ ?

ADVERTISEMENT

विवाह अब प्रदर्शन र प्रतिस्पर्धाको माध्यम बन्न थालेको छ। तर यी चमकभित्र लुकेको छ— मौन पीडा।
किनकि विवाह अब सम्बन्ध होइन, ‘इभेन्ट’ मात्रै बन्ने खतरा छ ।

पहिलेको विवाह र आजको विवाहबीचको दूरी
पहिले पहिले विवाहमा ‘साझा सपना’ हुन्थ्यो, आज ‘साझा पोस्ट’ मात्र छ। पहिले दुलहीको खुसी आँखामा देखिन्थ्यो, तर आज त्यो फिल्टर र एंगलमा मात्र देखिन्छ।
पहिले दुलाहाको गुण, इमान र जिम्मेवारी मूल्यवान हुन्थ्यो, आज कुन देशको पासपोर्ट छ ? त्यो हेर्ने चलन छ। यदि केटा अमेरिका, अस्ट्रेलिया वा युरोपमा छ भने— स्वभाव जे भए पनि ‘परफेक्ट’ ठहरिन्छ। किनभने ऊसँग पैसा, कार र घर छ। तर यस्ता विवाह प्रायः १५ दिनमै टुट्छन्,
र, समाजले फेरि भन्छ— ‘आजभोलिका विवाह टिक्दैन।’ तर त्यो विवाह थिएन, मात्र फोटोसेसन वा इभेन्ट थियो ।

इभेन्ट र सम्बन्धबीचको गहिरो भिन्नता

इभेन्टले रिल्स र चर्चा दिन्छ, तर जीवन र सहानुभूति कहिल्यै दिन सक्दैन। साँचो सम्बन्धमा माया हुन्छ, इभेन्टमा मेकअप हुन्छ। साँचो विवाहमा विश्वास हुन्छ, इभेन्टमा लाइक्स र कमेन्ट्स हुन्छन्।
साँचो विवाहमा‌ खुसी हुन्छ, इभेन्टमा थकान मात्र। सम्बन्ध टिकाउन माया, सम्मान र समझदारी चाहिन्छ। तर हिजोआज मायाभन्दा बढी ‘कन्टेन्ट’ खोजिन्छ।

अभिभावक र सन्तानका लागि जीवनभरको पाठ

समय बदलिएको छ, तर मानवता, माया र सम्मान कहिल्यै पुराना हुँदैनन्। छोराछोरीलाई ब्रान्ड होइन, मानवीय मूल्य सिकाऔँ। विवाहमा कस्तो देखिने भन्दा पनि, विवाहको सही अर्थ बुझाऔँ।

छोराका लागि सिकाउनुपर्ने कुरा– सुन्दर अनुहार होइन, सुन्दर मन रोज, जिम्मेवारी प्रेमभन्दा ठूलो प्रमाण हो, पत्नी तिम्रो सम्पत्ति होइन, तिम्रो साथी हो।

छोरीका लागि सिकाउनुपर्ने विषय– सौन्दर्य तिम्रो मूल्य होइन, तिम्रो आत्मविश्वास हो, तिमी पातली, गोरी वा ट्रेन्डी नभए पनि पर्याप्त छौं, तिम्रो आवाज नै तिम्रो पहिचान हो— मौनता होइन।

र, यथार्थ कुरा– ‘माया फोटो होइन, प्रतिबद्धता हो। विवाह फेसन होइन, दुई आत्माको मिलन हो।’

नेपालमा नयाँ ट्रेन्ड सुरु भएको छ— ‘छोरीलाई डिप्रेसन भएको रहेछ’ भनेर विवाह तोड्ने। १५ दिनमै छोरीलाई डिप्रेसनको आरोपसहित घर फर्काइन्छ। ‘डिप्रेसनमा रहेछ’ कति सजिलो आरोप ?

तर कोही सोध्दैन— भएपछि विवाहपछि डिप्रेसन भएको त हैन ? कसले दियो त्यो पीडा ? किनेको लुगा १५ दिनमा रिटर्न हुँदैन, तर एउटी छोरीलाई १५ दिनमै ‘रिटर्न’ गरिन्छ। यो डिप्रेसन होइन— मानसिक हिंसा हो। यो समाजको संवेदनहीनता हो। यस्तो व्यवहारले विकृति र अन्याय फैलाउँछ।

यस्तो व्यवहार अपराध हो

नेपालका कानुनहरूले मानसिक, शारीरिक र भावनात्मक हिंसालाई अपराध मानेका छन्। तर पीडितहरू बोल्दैनन्— किनकि समाजले उनीहरूको बोलीलाई ‘ड्रामा’ ठान्छ।

के छ कानुनी व्यवस्था ?

घरेलु हिंसा ऐन, २०६६
मानसिक अपमान, डर, धम्की, चरित्र हनन— सबै अपराध हुन्।
सजायः ६ महिनासम्म कैद वा जरिवाना वा दुवै।

फौजदारी संहिता, २०७४
मानहानि अपराध, झूटो आरोप वा सार्वजनिक बदनाम
सजायः १ वर्ष कैद वा १० हजार जरिवाना।

संविधान धारा ३८ (३)

महिलामाथि हुने हरेक हिंसा, अपमान र भेदभाव निषेध।

सिविल संहिता, २०७४

विवाह माया, सम्मान र सहयोगमा आधारित हुनुपर्छ। मानसिक स्वास्थ्यको कारण देखाएर निकाल्नु— गैरकानुनी हो।

कानुनी कार्यान्वयन र सामाजिक जिम्मेवारी

अब चेतना मात्र होइन, कडा कार्यान्वयन चाहिन्छ।
– तत्काल छानबिन र कानुनी कारबाही।
– पीडितलाई मानसिक, कानुनी र सामाजिक सहयोग।
– झूटो आरोप लगाउनेलाई सार्वजनिक माफी वा सजाय।
– विवाह ‘फेशन’ होइन भन्ने चेतना फैलाउने।

यो केवल न्यायको मुद्दा होइन, मानवताको रक्षा हो।

कर्तव्यविहीन समाज टिक्दैन
जब ब्यान्क्वेटको चमकले मनको अँध्यारो ढाक्छ, जब लहेंगाको मूल्यले मानवीय मूल्य हराउँछ— त्यो समाज कुहिन थाल्छ।

अभिभावकको सोच यस्तो हुनुपर्छ
‘छोरी धनी घर जाओस्’ होइन, ‘छोरी माया गर्ने घरमा जाओस्।’ धन र देश अस्थायी हुन्, मानवता स्थायी हो।

सामाजिक परिवर्तनका तीन आधार

– शिक्षा र चेतना — युवालाई सम्बन्धको जिम्मेवारी सिकाऔँ।
– कानुनी कार्यान्वयन — पीडितको हक तुरुन्त लागू होस्।
– मिडियाको भूमिका — विवाहलाई ‘फेसन’ होइन, ‘भावना’ का रूपमा प्रस्तुत गरौँ।

‘विवाहपछि केटी मोटी भइछे’ भनेर टिप्पणी गर्नु— यो अपराध हो, मानसिक हिंसा हो, हाँसो होइन।
सुन्दरता शरीरमा होइन, सोचमा हुन्छ। ‘फिट शरीर’ भन्दा ‘फिट सम्बन्ध’ चाहिन्छ— जहाँ सम्मान, समझदारी र सहानुभूति हुन्छ।

विवाहलाई पुनः परिभाषा गरौं

विवाह कुनै रील्स होइन— यो जीवनको यात्रा हो, जहाँ साथ, सहानुभूति र समझदारीले सम्बन्ध टिकाउँछ।
मानवता, माया र सम्मान बिना गरिएको विवाहले कहिल्यै ‘घर’ बन्न सक्दैन। फूल र ब्यान्क्वेट सुन्दर हुन सक्छन्, तर मन र मूल्य अझ सुन्दर हुनुपर्छ। विवाहलाई इभेन्ट होइन, भावना बनाऔँ— मानवता पहिलो हो, विलासिता पछि।