सुनसरी । खोटाङ र ओखलढुंगाका बासिन्दाको प्रत्यक्ष चासो रहेको ६ सय ७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको क्रममा पुगेको छ ।

विद्युत् विकास विभागले  ३५ दिने सूचना जारी गर्दै आयोजनाको विद्युत् उत्पादन अनुमति दिने औपचारिक प्रक्रिया सुरु भएको जनाएको छ।

राष्ट्रिय गौरवका आयोजनामध्ये प्रमुख मानिएको दूधकोशी परियोजना नेपालका लागि ऊर्जा आत्मनिर्भरता र आर्थिक रूपान्तरणको दिशामा एक ऐतिहासिक उपलब्धि मानिने छ।

यो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार भइसकेको छ। यी प्रतिवेदनका आधारमा विभागले ३५ दिने सूचना प्रकाशित गर्दै सरोकारवालाको राय–सुझाव र उजुरी मागेको विद्युत् विभागका प्रवक्ता बद्री कुइँकेलले जानकारी दिए।

उनले भने, ‘३५ दिनभित्र कुनै उजुरी वा सुझाव नआएमा उत्पादन अनुमति दिने तयारी छ। त्यसपछि कम्पनीले जग्गा अधिग्रहण, मुआब्जा वितरण र पुनस्र्थापनाको कार्य सुरु गर्न सक्नेछ।’

विद्युत् विभागले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेपछि कम्पनीले लगानी, विद्युत् खरिद सम्झौता (पीपीए), जग्गा अधिग्रहण, पुनर्बास, मुआब्जा वितरणजस्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

दूधकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत वसन्तध्वज श्रेष्ठले विद्युत् उत्पादनको अनुमति प्राप्त हुनासाथ परियोजनाको भौतिक निर्माण सुरु गरिने बताएका छन्।

उनले भने, ‘यो आयोजना नेपालको ऊर्जा आत्मनिर्भरतातर्फको ऐतिहासिक यात्रा हुनेछ। हामी यो परियोजनालाई दिगो, पारदर्शी र स्थानीयमैत्री ढंगले अघि बढाउने संकल्प गरेका छौं।’

खोटाङ जिल्लाको रावाबेंसी गाउँपालिका र ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको सिमानामा निर्माण हुने यो आयोजनाको अनुमानित लागत करिब २ खर्ब ८६ अर्ब रुपैयाँ रहनेछ।

परियोजनाको वित्तीय संरचना बनाउनका लागि एसियाली विकास बैंक (एडीबी) लगायत विकास साझेदारहरूसँग छलफल भइरहेको छ। बैंकले करिब ५ सय ५० मिलियन अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

यो जलविद्युत् उत्पादन गर्दा १ सय ८६ घरपरिवार विस्थापित हुनेछन्। स्थानीय बासिन्दा आयोजनाको समाचारले अत्यन्त उत्साहित छन्।

दूधकोशी विद्युत् आयोजना सञ्चालनमा आएपछि देशको विद्युत् उत्पादन क्षमता १५ देखि २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।