काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान करिब साढे ८ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।
गत १ कात्तिकमा (शनिबार) पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आफ्नो शरीरमा पेट्रोल छर्की आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन्। उनी गम्भीर घाइते भएपछि तत्कालै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो।
उक्त स्टुडियो गायक बाबुल गिरीको भएको खुलेको छ। घटना पछि प्रहरीले गायक गिरीलाई बयानका लागि प्रहरी परिसरमा बोलाएर सोधपुछ गरेको थियो। हाल उनी प्रहरीकै सम्पर्कमा रहेको एसपी भट्टराईले जनाएका छन्।
तर, गिरीविरुद्ध अहिलेसम्म कुनै औपचारिक जाहेरी दर्ता नभएको प्रहरीले जनाएको छ। यसैबीच, नितुकी दाइ गणेश पौडेल भने शुक्रबार बिहान प्रहरी वृत्त सिंहदरबार पुगेका छन्। उनले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै गायक गिरीविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिन लागेको बताएका छन्।
गणेशका अनुसार, नितु र बाबुलबीच करिब ८–९ वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो। घटना भएको बेला स्टुडियोमा दुवै मात्र रहेको र बहिनीलाई जलाइएको दाबी उनले गरेका छन्।
हाल प्रहरीले यो घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। नितु पौडेलको निधनले नेपाली संगीत क्षेत्रमा गहिरो शोक छाएको छ।






