नेपाली व्यञ्जन अनिवार्य रूपमा प्रयोग गर्न लगाउन सिक्किम उच्च अदालतले आदेश सुनाएको छ । नेपाली भाषाको संरक्षण र मौलिक स्वरूप जोगाउने विषयमा अदालतको यो आदेशलाई ऐतिहासिक भनिएको छ ।

अदालतको यो फैसलापछि पछिल्ला वर्षहरूमा नियमित प्रयोगबाट हराउँदै गएका नेपालीका परम्परागत व्यञ्जनहरू ण, श, ष, ड़, ढ़, क्ष, त्र, र ज्ञ लाई पुनः नेपाली भाषाको औपचारिक लेखन, शिक्षण र प्रकाशनमा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ ।

ADVERTISEMENT

यी व्यञ्जनहरूको प्रयोगमा कमी आउँदा नेपाली भाषाको मौलिकता, उच्चारण शुद्धता र भाषिक विविधतामा असर परिरहेको अदालतको आदेशमा भनिएको छ । भाषाविद्ले नेपाली व्यञ्जनको प्रयोग हराएकामा चिन्ता व्यक्त गर्दै आएका थिए। अदालतले यी सबै विषयमा सम्बोधन गर्दै ‘भाषिक पुनःस्थापना र संरक्षण” लाई राज्यको जिम्मेवारीको रूपमा मान्यता दिएको हो।

फैसला कार्यान्वयनका लागि अदालतले भाषिक अनुगमन विशेषज्ञ समिति गठन गर्न आदेश दिएको छ। समितिमा भाषाविद्, शिक्षक, साहित्यकार, पत्रकार र शैक्षिक विज्ञहरू रहनेछन्। समितिको प्रमुख जिम्मेवारी नेपाली भाषाको सही, शुद्ध र व्यापक प्रयोग सुनिश्चित गर्नु हुनेछ। समिति विद्यालय, कलेज, विश्वविद्यालय, प्रकाशन गृह, मिडिया हाउस र सरकारी निकायहरूमा भाषिक प्रयोगको अनुगमन गर्नेछ।

ADVERTISEMENT

अदालतले सिक्किम विश्वविद्यालयलाई तुरुन्तै आफ्ना सबै पाठ्यपुस्तक र पाठ्यक्रम अद्यावधिक गर्न आदेश दिएको छ, जसमा यी पुनःस्थापित व्यञ्जनहरूको प्रयोग सुनिश्चित गरिनुपर्नेछ। साथै, राज्यका अन्य शैक्षिक संस्थाहरूले पनि सोही निर्देशिकाको पालना गर्नुपर्नेछ।

यससँगै अदालतले सिक्किम राज्य सरकारलाई समितिलाई आवश्यक स्रोत, जनशक्ति र वित्तीय सहयोग उपलब्ध गराउन स्पष्ट आदेश दिएको छ। सरकारलाई भाषिक चेतना अभिवृद्धि गर्ने अभियान चलाउन र सर्वसाधारणमा सही नेपाली प्रयोगबारे जनजागरण कार्यक्रम सुरु गर्न पनि सिफारिस गरिएको छ।

भाषाविद्हरूले अदालतको यो निर्णयलाई नेपाली भाषाको इतिहासमा एक ‘पुनर्जागरणको क्षण’ भन्दै स्वागत गरेका छन्। उनीहरूले यसले नयाँ पुस्तामा भाषाप्रतिको गर्व र सरोकार बढाउने विश्वास व्यक्त गरेका छन्। यो फैसला कार्यान्वयन भएपछि सिक्किम र अन्य नेपालीभाषी क्षेत्रहरूमा भाषा शिक्षाको स्वरूपमा ठूला परिवर्तन आउने अपेक्षा गरिएको छ।