ललितपुर । प्रहरीले पेस्तोल र चार लाख अठहत्तर हजार नगदसहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार बिहान २ः५० बजे खोटाङ जिल्ला साकेला गाउँपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने वर्ष २३ का शिवकुमार बिकलाई पेस्तोल र नगदसहित पक्राउ गरिएको हो।
बिकले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनी स्थानीयहरुले खबर गरेलगत्तै तत्कालै प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनले कम्बरमा भिरेको व्यागमा लुकाई राखेको ५००००४९१नम्बरको म्याग्जिनसहितको गोली नभएको चाइनिज पेस्तोल एक थान, राष्ट्रिय वाणिज्य बैंकको ट्याग भएको नगद चार लाख अठहत्तर हजार रुपैयाँ र आइफोन एक थान बरामद गरिएको उनले बताए ।
प्रहरी उपरीक्षक जोशीका अनुसार उक्त हतियार र नगद गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको आशंका गरी थप अनुसन्धान जारी रहेको छ ।










