काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ ।

अख्तियारका अनुसार बिहीबार महरासँग भेपको बट्टाभित्र ९ किलो सुन तस्करी प्रकरणमा उनले तत्कालीन भन्सार प्रमुखसहितका कर्मचारीमाथि गरेको भनसुनबारे बयान लिइएको हो । महरा बिहीबार टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा बयान दिन पुगेका हुन् ।

ADVERTISEMENT

अख्तियारले सार्वजनिक पद धारण गरेका व्यक्तिका भूमिकाको अनुसन्धान गरिरहेको र महराको पनि सोही सन्दर्भमा बयान लिइएको जनाएको छ । अनुसन्धान अधिकारीका अनुसार महरासँग सोधपुछपछि आवश्यक विवरणका आधारमा आगामी कानुनी प्रक्रिया अघि बढाइनेछ ।

यसअघि महरालाई सोही मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । उनका छोरा राहुल महरा पनि यसअघि यसै प्रकरणमा पक्राउ परेका थिए ।

ADVERTISEMENT

२०७९ पुषमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपको बट्टाभित्र लुकाइएका नौ किलो सुन बरामद भएपछि प्रकरणले राजनीतिक तहसम्म तरंग ल्याएको थियो । घटनामा संलग्न भनिएका व्यक्ति क्रमशः पक्राउ परेपछि अनुसन्धानको दायरा विस्तार हुँदै गएको हो ।