काठमाडौं । मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव शुरू भएको छ । गएराति देशको पश्चिमी भेगमा पश्चिमी वायुको प्रभावले र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले हल्का वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रका थोरै ठाउँबाट मनसुन बाहिरिएको हो । योसँगै ती ठाउँमा पश्चिमी वायुको प्रभाव शुरू भएको हो ।
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले ती क्षेत्रमा हल्का वर्षा भएको छ । यसबाहेक मध्य र पूर्वी भेगका अरू ठाउँमा मनसुनी वायुको प्रभावले हल्का पानी परेको छ ।






