काठमाडौँ । शनिबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित धेरै क्षेत्रमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ ।

अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ ।

ADVERTISEMENT

पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको छ । पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ ।

ADVERTISEMENT

जल तथा मौसम विज्ञान विभागले शनिबार र आइतबार भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ । रातिमा अझ धेरै वर्षा हुने जनाइएको छ । हाल विशेष गरी बागमती प्रदेश र मधेस प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध गरिएको छ।

ADVERTISEMENT

भारी वर्षाको पूर्वानुमानसँगै सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले शनिबारखि तीन दिनका लागि लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। काठमाडौं भित्रिने राजमार्ग पहिरो र बाढीको उच्च जोखिममा रहेकाले पनि सरकारले यस्तो निर्णय लिएको हो ।

देश दसैँमा झुमिरहँदा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाइनुले अवस्था ठीक नभएको जनाउँछ । मौसमविद् र सरकारले तीन चार दिनयता मौसम अपडेटबारे जानकारी दिँदै सचेतना गराइरहेको छ ।

सरकारबाटै नागरिकमा डर र त्रास सिर्जना गराइएको भन्दै केहीले यसको विरोध गरिरहेका छन् । तर मौसमविद्हरूले मानिसमा डर र त्रास जगाएर भए पनि मानवीय क्षति हुन नदिनु जायज भएको भन्दै समर्थन गरेका छन् । मौसमविद् उज्ज्वल उपाध्याय मौसम संकटकालको यस्तो अवस्थामा सरकारकाे मानवीय क्षति रोक्ने प्रयास उचित भएको बताउँछन् । उपाध्यायले बाढीपहिरोको जोखिम टरिसकेपछि यातायातका साधन सञ्चालन गर्नु ठीक हुने बताउँछन् ।

भारतमा पनि सरकारले नागरिकमा सचेतना जगाउँदै आएको छ । त्यहाँ पनि यतिबेला भीषण वर्षा भइरहेको छ ।