काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ प्रदर्शनअघि नै चर्चामा छ। फिल्मको पहिलो गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्सुकता बढिरहेका बेला यसले विभिन्न राइट्स बिक्रीबाट ६६५ करोड भारतीय रुपैयाँको अग्रिम कारोबार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
रिपोर्टअनुसार फिल्मको विदेश वितरण अधिकार फर्स फिल्म्सले १७५ करोड भारुको न्यूनतम ग्यारेन्टीमा खरिद गरेको छ। यो कुनै भारतीय फिल्मका लागि भएको अहिलेसम्मकै उच्च विदेशी वितरण सम्झौता भएको दाबी गरिएको छ।
त्यस्तै, पेन मरुधरले भारतभित्रको प्रदर्शन अधिकार २५० करोड भारुको अग्रिम रकममा लिएको छ। यससँगै फिल्मले घरेलु र विदेशी थिएटर वितरण अधिकार बिक्रीबाट मात्रै ४२५ करोड भारु जुटाएको छ।
फिल्मको डिजिटल अधिकार नेटफ्लिक्सले १५० करोड भारुको आधार मूल्यमा खरिद गरेको छ। बक्स अफिसमा फिल्मको प्रदर्शनका आधारमा यो रकम थप बढ्न सक्ने बताइएको छ।
यसैगरी, म्युजिक राइट्सबाट ६५ करोड र स्याटेलाइट राइट्सबाट २५ करोड भारु प्राप्त हुने रिपोर्टमा उल्लेख छ। यी सबै अधिकार बिक्रीको रकम जोड्दा फिल्मको कुल अग्रिम कारोबार ६६५ करोड भारु पुगेको हो।
रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका छन्। फिल्ममा शाहरुख नयाँ एक्सन अवतारमा देखिनेछन्।
फिल्ममा शाहरुखसँगै दीपिका पादुकोण, रानी मुखर्जी, अभिषेक बच्चन, सुहाना खान, अनिल कपूर, अभय वर्मा र अर्शद वारसीको अभिनय छ। फिल्मले एक गुरु र उनका चेलाले कठिन परिस्थितिमा बाँच्नका लागि गर्ने संघर्षको कथा प्रस्तुत गर्नेछ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको निर्माण बजेट करिब ३५० देखि ४०० करोड भारु रहेको छ। ‘किङ’ आगामी डिसेम्बर २४ अर्थात् क्रिसमसको अवसरमा प्रदर्शनमा आउने तय भएको छ।









