काठमाडौं । साउदी अरेबियाको सेबा आयल फिल्डमा ड्रोन हमलाका कारण नेपाली नागरिकको ज्यान गएपछि नेपाल सरकारले कडा निन्दा गरेको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक पूर्वाधारमा गराइएको विस्फोटबारे कडा निन्दा गरेको हो । ”सार्वजनिक पूर्वाधार लक्षित सबै आक्रमणलाई नेपाल कडा भर्त्सना गर्दछ,” परराष्ट्र मन्त्रालयले भनेको छ ।
साउदीमा जारी तनाव वार्ता र संवादमार्फत अन्त्य हुनुपर्ने पक्षमा नेपाल रहेको परराष्ट्रले भनेको छ । मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
बुधबार साउदी अरामकोको तेल उत्पादन तथा प्रशोधन केन्द्रलाई लक्षित आक्रमणमा एक नेपाली र एक फिलिपिनो नागरिकको ज्यान गएको हो। घटनामा एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते छन्।
साउदीको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनलाई आकाशमै नष्ट गरेको थियो। त्यसको भग्नावशेष खसेर आयल फिल्डको परिसर नजिक रहेको ठेकेदारको गाडीमा आगो सल्किएको थियो । त्यसपछि कामदारको मृत्यु भएको हो ।
हुथीले साउदीका सार्वजनिक पूर्वाधार लक्षित हमलालाई तीव्रता दिएको छ ।










