भक्तपुर । दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ। दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले मंगलबारदेखि च्याङ्ग्रा बिक्री गर्न थालेका हुन्।
यस वर्ष च्याङ्ग्रा खरिद र ढुवानीमा कठिनाइ हुनुका साथै मूल्यसमेत बढेको व्यापारीहरूले बताएका छन्। सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका व्यापारी मेखबहादुर नेपालले ३० वर्षभन्दा लामो समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्। तर, यस वर्षजस्तो महँगी यसअघि अनुभव नगरेको उनले बताए।
नेपालका अनुसार गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब ३ हजार रुपैयाँसम्म बढेको छ। मूल्यवृद्धि भए पनि उपभोक्तालाई ध्यानमा राख्दै आफूले गत वर्षकै हाराहारीमा मूल्य राखेर बिक्री गरिरहेको उनले बताए।
सल्लाघारीमा च्याङ्ग्राको जिउँदो तौल प्रतिकेजी १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म रहेको छ। नेपालले आफूले प्रतिकेजी १ हजार ३०० रुपैयाँभन्दा बढीमा बिक्री नगरेको बताए। पसलमा बिक्री गर्ने व्यापारीलाई भने खरिदको परिमाण र कारोबारअनुसार प्रतिगोटा १० देखि २० रुपैयाँसम्म छुट दिने गरिएको उनले जानकारी दिए।
यस वर्ष मुस्ताङबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याउनसमेत निकै कठिन भएको व्यापारीहरूको भनाइ छ। वर्षाका कारण सडक तथा पुलमा क्षति पुगेपछि ढुवानी प्रभावित भएको थियो। कतिपय स्थानमा खानपिन र बासको उचित व्यवस्था नहुँदा व्यापारीसँगै च्याङ्ग्राले समेत समस्या भोग्नुपरेको थियो।
क्षतिग्रस्त सडक र पुल पार गर्न डोजर तथा टिपरको सहयोग लिनुपरेको नेपालले बताए। च्याङ्ग्रा तार्न व्यापारीहरू आपसमा मिलेर काम गर्नुपरेको उनको भनाइ छ। ढुवानीका क्रममा विभिन्न कठिनाइ झेल्दै च्याङ्ग्रा काठमाडौं ल्याइएको उनले बताए।
नेपालले यस वर्ष करिब ५ सय च्याङ्ग्रा ल्याएको बताएका छन्। तीमध्ये २ सय च्याङ्ग्रा कलंकी खसीबजारका व्यापारीलाई बिक्रीका लागि उपलब्ध गराएका छन् भने बाँकी ३५१ वटा सल्लाघारीमा ल्याएको विवरण दिएका छन्। उनका अनुसार सल्लाघारीमा मंगलबारदेखि बिक्री सुरु गरिएको हो।
दसैँका लागि च्याङ्ग्रा खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट उपभोक्ता सल्लाघारी पुग्ने अपेक्षा व्यापारीहरूले गरेका छन्। मूल्यवृद्धि र ढुवानीको कठिनाइका बाबजुद दसैँको मागलाई लक्षित गर्दै व्यापारीहरूले च्याङ्ग्रा बिक्रीका लागि ल्याएका छन्।










