काठमाडौं । रसुवा बाढीपछिको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहायता दिने भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङसँग भएको वार्तामा थप सहायता घोषणा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको तर्फबाट ऐक्यबद्धता प्रकट गरेकी थिइन्।
बाढीपछि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र यसअघि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो। थप १५ मिलियन डलर घोषणासँगै नेपालको विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ।
भेटवार्तामा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरेका थिए। उनले प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न पनि सहकार्यको प्रस्ताव राखेका थिए।
त्यस्तै, नेपालमा जलविद्युत्, नवीकरणीय ऊर्जा, प्रविधि हस्तान्तरण, दिगो कृषि तथा पर्यटन क्षेत्रमा अस्ट्रेलियाली लगानी भित्र्याउने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत छलफल भएको छ।
अस्ट्रेलियाको औपचारिक भ्रमण सकेर मन्त्री खनाल शनिबार स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा उनी फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा समेत सहभागी भएका थिए।







