कास्की । दुबईबाट पोखरा आएको फ्लाई दुबईको जहाज खराब मौसमका कारण भारतको लखनउतर्फ डाइभर्ट भएको छ।
शनिबार साँझ पोखरामा हावाहुरीसहित वर्षा भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपासको मौसम प्रतिकूल बनेको थियो। विमानस्थलमा साँझ ६ बजेर १५ मिनेटमा अवतरण गर्ने तालिका रहेको जहाजले पोखराको आकाशमा केही समय होल्ड गरेको थियो।
पोखरा विमानस्थलका अनुसार जहाजले पोखराको आकाशमा करिब पाँच राउण्ड लगाए पनि मौसममा तत्काल सुधार नआएपछि लखनउतर्फ डाइभर्ट गरिएको हो।
फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दुबई–पोखरा दैनिक उडान सुरु गरेको हो।
विमानस्थलका अनुसार मौसममा सुधार आएपछि जहाज पुनः पोखरा फर्किने तयारीमा रहेको छ।







