काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई संरक्षण र हेरचाहको विषयमा मात्र सीमित नगरी उनीहरूको ज्ञान, अनुभव र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताएकी छन्।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा योगदान पुर्याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।
उनले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको उल्लेख गरेकी छन्। यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ रहेको छ।
बदलिँदो पारिवारिक संरचना, सामाजिक परिवेश र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, संरक्षण, हेरचाह तथा एक्लोपनका समस्या थप चुनौतीपूर्ण बन्दै गएको मन्त्री बादीले बताएकी छन्।
संविधान तथा प्रचलित कानुनअनुसार सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा, स्वास्थ्य, संरक्षण तथा हेरचाहसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरेकी छन्।
मन्त्री बादीले ज्येष्ठ नागरिकसँग रहेको ज्ञान, सीप र अनुभव भावी पुस्तामा हस्तान्तरण गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ स्थापना गरी संस्थागत रूपमा विकास गर्ने मन्त्रालयको योजना सार्वजनिक गरेकी छन्।
डिजिटल प्रविधिको प्रयोगमार्फत ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अभिलेखीकरण तथा पुस्तान्तरण गर्ने र त्यसलाई समाज तथा राष्ट्रको विकासमा उपयोग गर्ने अवधारणासहित अनुभव बैंक अघि बढाइने उनले बताएकी छन्।







