काठमाडौँ । भारतको जम्मु–कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार घटना मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा भएको हो। सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारको केही सहकर्मीसँग विवाद भएपछि उनले आफ्नो राइफलबाट गोली चलाएको आरोप छ।

ADVERTISEMENT

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएको थियो। उपचारका क्रममा चारै जनाको मृत्यु भएको हो।

ADVERTISEMENT

मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन्।

घटनापछि अन्य सीआईएसएफ जवानहरूले अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए। पछि उनलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन्।

ADVERTISEMENT

घटनाको जानकारी पाएलगत्तै सीआईएसएफ र प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए। गोली चलाउनुको वास्तविक कारण र घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।