काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि विभागले विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।

विभागका मौसमविद् रोजन लामिछानेले प्रतिकूल मौसममा हतार गरेर धान काट्दा बालीसँगै जनधनको क्षति हुन सक्ने भएकाले मौसम खुलेपछि मात्रै धान काट्ने योजना बनाउन किसानलाई सुझाव दिएका छन्।

ADVERTISEMENT

उनका अनुसार पूर्वी भूभागमा मौसम क्रमिक रूपमा सुधार हुँदै गए पनि पश्चिमी क्षेत्रमा वर्षाको प्रभाव भोलि दिउँसोसम्म रहने सम्भावना छ। पछिल्ला ३–४ दिनदेखि लगातार वर्षा भइरहेको पश्चिमी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

ADVERTISEMENT

विभागले जमिन चिरा परेको वा सानो पहिरो देखिएको क्षेत्रमा जोखिम उच्च हुने जनाएको छ। त्यस्ता स्थानका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न र छिमेकीलाई समेत सचेत गराउन आग्रह गरिएको छ।

त्यस्तै, नदी तथा खोला किनारमा बसोवास गर्ने समुदायलाई जलसतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ। स्थानीय प्रशासन र प्रहरीले गर्ने माइकिङ तथा साइरनलाई बेवास्ता नगर्न पनि विभागले आग्रह गरेको छ।

ADVERTISEMENT

मौसमसम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा हेर्न र कुनै जिज्ञासा वा सूचनाका लागि विभागको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न सकिनेछ।