काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्ड दुईतर्फी सञ्चालनका लागि योग्य बनाइएको छ।
गत् भदौ १४ गते आएको बाढीले त्रिशूली नदीतर्फबाट सडक कटान गरेपछि उक्त सडकखण्ड क्षतिग्रस्त बनेको थियो। सडकको केही भाग बगाएपछि लामो समयदेखि एकतर्फी रूपमा यातायात सञ्चालन हुँदै आएको थियो।
नागढुंगा मुग्लिङ सडक योजना पश्चिम योजना कार्यालयका अनुसार सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने क्रममा सडकको भित्तातर्फ रहेको करिब ५५ मिटर कडा चट्टान हटाइएको छ। नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गरी चट्टान हटाउने काम सम्पन्न भएको छ ।
चट्टान हटाउने क्रममा भदौ २६ गतेदेखि असोज ७ गतेसम्म २१ पटक विस्फोट गरिएको थियो। उच्च जोखिमका बीच गरिएको उक्त कार्य सफलतापूर्वक सम्पन्न भएपछि अहिले सडकखण्ड सहज र सुरक्षित रूपमा दुईतर्फी यातायात सञ्चालन गर्न योग्य भएको उक्त कार्यालयले जनाएको छ ।
सडक खुलाउन नेपाली सेनाको प्राविधिक टोलीले १३ दिनसम्म निरन्तर रूपमा काम गरेको थियो। जोखिमपूर्ण भूगोल र सडकमा निरन्तर आवागमन भइरहेका कारण चट्टान हटाउने काम चुनौतीपूर्ण भएको थियो।







