काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक गरेको छ। कम्पनीका अनुसार P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ।
नेपालका विविध भौगोलिक अवस्था तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर विकास गरिएको P2 शहरी आवतजावतमा मात्र सीमित नभई उकालो, घुम्ती सडक, दैनिक ट्राफिक तथा लामो दूरीको यात्रालाई समेत ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ।
P2 मा कार्यक्षमता, रेन्ज, चार्जिङ, कनेक्टिभिटी र राइडर केन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको छ। ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन्।
तीनवटा ब्याट्री विकल्प
यात्री P2 मा ग्राहकको दैनिक यात्राको आवश्यकता अनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन्।
- ३.० kWh ब्याट्री – सहरभित्र वास्तविक अवस्थाको परीक्षणमा ९० किलोमिटरसम्म रेन्ज
- ३.७ kWh ब्याट्री – ११२ किलोमिटरसम्म रेन्ज
- ५.२ kWh ब्याट्री – १५७ किलोमिटरसम्म रेन्ज
थप रेन्ज आवश्यक पर्ने ग्राहकका लागि एक्स्टेन्डर प्याक उपलब्ध हुनेछ, जसबाट थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
P2 का ब्याट्री सिस्टम यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएको र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको कम्पनीको दाबी छ।
ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध हुनेछ।
नेपालको सडकका लागि इन्जिनियरिङ
यात्री P2 मा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले पांग्रामा ३१५ Nm टर्क उत्पादन गर्छ।
स्कुटरमा एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलर प्रयोग गरिएको छ, जसले विशेषगरी उकालो सडकमा निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ।
P2 मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन तथा १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ। विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न यी संरचनाले सहयोग गर्ने बताइएको छ।
सुरक्षाका लागि डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ।
घरमै चार्ज गर्न सकिने
P2 मा इन्स्टल्ड अनबोर्ड चार्जर राखिएको छ। यसका कारण घरमा चार्ज गर्दा छुट्टै चार्जिङ एडाप्टर बोक्नुपर्ने आवश्यकता नपर्ने कम्पनीले जनाएको छ।
ब्याट्रीको कन्फिगरेसनअनुसार घरमै २.५ घण्टाभन्दा कम समयमा चार्ज गर्न सकिने बताइएको छ।
लामो दूरीको यात्रा वा छिटो चार्ज आवश्यक पर्ने अवस्थामा P2 ले DC फास्ट चार्जिङ सपोर्ट गर्छ। तोकिएको चार्जिङ अवस्थाअनुसार करिब ४१ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
शहरबाहिर यात्रा गर्ने P2 प्रयोगकर्तालाई सहज बनाउन सिप्रदी यात्रीले देशभर आफ्नो चार्जिङ नेटवर्क विस्तार गरिरहेको जनाएको छ।
७ इन्च TFT डिस्प्ले र स्मार्ट कनेक्टिभिटी
P2 मा ७ इन्च TFT डिस्प्ले राखिएको छ। यसमा वायरलेस Apple CarPlay र Android Auto को सुविधा उपलब्ध छ।
डिस्प्लेबाट नेभिगेसन तथा आवश्यक राइडिङसम्बन्धी जानकारी हेर्न सकिन्छ। स्कुटरमा रहेका इन्टिग्रेटेड सेन्सरले कम्पासको दिशा, रोल र पिचलगायतका जानकारी रियल–टाइममा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
P2 को कनेक्टेड आर्किटेक्चरमार्फत मोबाइल नेटवर्कमा जोडिइरहने व्यवस्था गरिएको छ। यसको मोबाइल एपबाट ग्राहकले लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ जानकारी, रुट प्लानिङ र सर्भिस अपोइन्टमेन्ट जस्ता सुविधा प्रयोग गर्न सक्नेछन्।
स्कुटरमा प्रोक्सिमिटी डिटेक्सन प्रविधि पनि रहेको छ, जसले चाबीबिना स्कुटर चलाउने सुविधा प्रदान गर्छ।
राइडिङलाई आफूअनुकूल बनाउन सकिने
P2 मा विभिन्न सडक तथा राइडिङ अवस्थाअनुसार स्कुटरको अनुभव आफूअनुकूल बनाउन मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड र मल्टिपल–लेभल रिजेनेरेटिभ ब्रेकिङ उपलब्ध छन्।
शहरको ट्राफिक तथा लामो यात्रालाई सहज बनाउन हिल होल्ड र क्रुज कन्ट्रोल जस्ता सुविधा पनि राखिएका छन्।
रिजेनेरेटिभ ब्रेकिङले गति घटाउँदा केही ऊर्जालाई पुनः विद्युतीय ऊर्जामा रूपान्तरण गरी ब्याट्रीमा भण्डारण गर्न सहयोग गर्छ।
सुरक्षामा पनि विशेष ध्यान
P2 मा LED हेडलाम्प राखिएको छ। त्यस्तै, रिजेन–रिस्पोन्सिभ टेललाइटले स्कुटरको गति घट्दा पछाडिबाट आइरहेका सवारीलाई त्यसको संकेत दिनेछ।
कनेक्टेड प्लेटफर्ममार्फत एन्टी–थेफ्ट नोटिफिकेसन र मोटर लक जस्ता सुविधा पनि उपलब्ध छन्।
आफ्नो रोजाइअनुसार P2 कन्फिगर गर्न सकिने
ग्राहकले P2 लाई आफ्नो आवश्यकता र रुचिअनुसार आफूअनुकूल बनाउन सक्नेछन्।
कम्पनीको अनलाइन कन्फिगुरेटर मार्फत रङ, ब्याट्री क्षमता, कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सकिनेछ।
ग्राहकले अर्डर गर्नुअघि नै आफूलाई आवश्यक कन्फिगरेसन तयार गरी उपलब्ध विकल्प हेर्न सक्नेछन्।
टेकुमा एक्सपेरियन्स सेन्टर
काठमाडौंको टेकुमा सिप्रदी यात्रीको नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कम्पनीका अनुसार यो सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउनेछ।
त्यहाँ ग्राहकले P2 प्रत्यक्ष अनुभव गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन्।
यसअघि भएको Yatri Auto Show का क्रममा P2 बुकिङ गरेका ग्राहकलाई डेलिभरी सुरु भएसँगै स्कुटर उपलब्ध गराइने कम्पनीले जनाएको छ।
३.७ kWh र ५.२ kWh भेरियन्टको डेलिभरी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म सुरु हुने तथा अन्य भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुने तालिका रहेको छ।
नेपालमै विकास, विश्व बजारलाई लक्ष्य
सिप्रदी यात्रीका अनुसार P2 कम्पनीको दुई वर्षभन्दा लामो विकास यात्राको परिणाम हो। यसमा भेहिकल इन्जिनियरिङ, ब्याट्री प्रविधि, इलेक्ट्रोनिक्स, सफ्टवेयर र कनेक्टेड मोबिलिटीलाई एउटै प्लेटफर्ममा एकीकृत गरिएको छ।
कम्पनीले P2 मार्फत नेपालमै विकास गरिएको विद्युतीय मोबिलिटीलाई स्थानीय सडक तथा परिस्थितिअनुकूल इन्जिनियरिङ गर्न सकिने देखाउने लक्ष्य राखेको जनाएको छ।
साथै, विश्व बजारका लागि आवश्यक प्रविधि र कार्यक्षमता समेटिएको विद्युतीय सवारी विकास गर्ने उद्देश्य रहेको कम्पनीको भनाइ छ।
यात्री P2 को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ। ग्राहकले ब्याट्री, रङ, कम्फर्ट र कनेक्टिभिटीका विकल्पअनुसार आफ्नो P2 कन्फिगर गर्न सक्नेछन्।






