काठमाडौं । प्रभु बैंकले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग पुर्याउने उद्देश्यले देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा मंगलबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैंकका अनुसार काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयसहित सातै प्रदेशका ८ स्थानमा सञ्चालन गरिएको कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको छ।
रक्तदान कार्यक्रम बागमती प्रदेशमा केन्द्रीय कार्यालय बबरमहल र नारायणगढ शाखा, कोशी प्रदेशमा विराटनगर, मधेसमा सिमरा, गण्डकीमा पोखराको अमरसिंहचोक, लुम्बिनीमा बुटवल, कर्णालीमा सुर्खेत तथा सुदूरपश्चिममा धनगढी शाखामा सञ्चालन गरिएको थियो।

यसअघि बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ संस्थागत सहयोग गरेको थियो। बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको थप ४० लाख ८० हजार ५० रुपैयाँ समेत कोषमा सहयोग गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, बैंकले बाढी प्रभावित परिवारका लागि १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको छ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले बेपत्ता नागरिकको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। साथै प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनामा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ।






