काठमाडौं । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको आक्रमणमा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनमा आगलागी हुँदा केही व्यक्ति घाइते भएका छन्।

इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल पश्चिमी तटस्थित यान्बु बन्दरगाहतर्फ पठाउँदै आएको थियो।

ADVERTISEMENT

साउदी ऊर्जा मन्त्रालयका अनुसार बिहीबार पाइपलाइनमा पटक–पटक ड्रोन आक्रमण भएको थियो। क्षतिको मूल्याङ्कन तथा पाइपलाइन सुरक्षित गर्न टोली परिचालन गरिएको छ। हालसम्म कुनै देश वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

ADVERTISEMENT

अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइन नजिकका पम्पिङ स्टेसनलाई निशाना बनाइएको थियो। स्याटेलाइट तस्बिरमा एउटा पम्पिङ स्टेसनमा ठूलो आगलागी भएको देखिएको छ।

साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा भएको आक्रमणका ड्रोन इराकबाट आएको दाबी गरेको छ। इराकले भने घटनाको निन्दा गर्दै अनुसन्धान गर्ने र आफ्नो भूमि वा हवाई क्षेत्र अन्य देशमाथि आक्रमणका लागि प्रयोग हुन नदिने बताएको छ।

ADVERTISEMENT

साउदीको इस्ट–वेस्ट पाइपलाइनले देशको पूर्वी क्षेत्रमा उत्पादन हुने तेललाई होर्मुज स्ट्रेट नपारिकन यान्बु बन्दरगाहसम्म पुर्‍याउँछ। त्यसैले होर्मुज बन्द भएपछि यो साउदीको प्रमुख वैकल्पिक निर्यात मार्ग बनेको थियो।

अब पाइपलाइनसँगै लाल सागरको समुद्री मार्गसमेत जोखिममा परेको छ। यमनका हुथी विद्रोहीहरूले बाब अल–मन्डेब क्षेत्रमा साउदी जहाजलाई रोक्ने चेतावनी दिएका छन्। यसले एसिया–युरोपबीचको महत्त्वपूर्ण व्यापार तथा तेल ढुवानी मार्गमा थप दबाब सिर्जना गर्न सक्छ।