काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा निरन्तर राख्न डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति तथा समन्वयमा डिशहोमले युटेलस्याट वनवेब (Eutelsat OneWeb) सँगको सहकार्यमा बाढीबाट बढी प्रभावित क्षेत्रमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार भदौ २० गतेदेखि प्राथमिकताका आधारमा उक्त सेवा उपलब्ध गराउन थालिएको हो।

ADVERTISEMENT

प्राकृतिक विपद्का समयमा भरपर्दो सञ्चार सेवा उद्धार, राहत तथा समन्वयका लागि अत्यावश्यक हुने भएकाले प्रभावित क्षेत्रमा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र महत्वपूर्ण समन्वय केन्द्रहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको डिशहोमले जनाएको छ।

ADVERTISEMENT

युटेलस्याट वनवेबको लो–अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थलीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्नेछ। यसबाट सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, उद्धारकर्मी तथा राहत कार्यमा संलग्न विभिन्न निकायबीच सूचना आदान–प्रदान र वास्तविक समयको समन्वयमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिशहोमले प्राकृतिक विपद्का कारण परम्परागत दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा भरपर्दो वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउनु आफ्नो प्राथमिकता रहेको जनाएको छ। प्रभावित क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउन आवश्यकताअनुसार सेवा तथा स्रोत परिचालन गर्दै जाने कम्पनीको भनाइ छ।

कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी तथा सुरक्षा निकाय र स्थानीय सरोकारवालासँग समन्वय गरी प्रभावित क्षेत्रमा कनेक्टिभिटीको आवश्यकता र प्राथमिकता मूल्याङ्कन गर्ने जनाएको छ।

सञ्चार तथा इन्टरनेट पूर्वाधार पूर्ण रूपमा मर्मत तथा पुनःस्थापना नभएसम्म आवश्यकताका आधारमा उच्च प्राथमिकतामा रहेका थप स्थानमा समेत स्याटेलाइट इन्टरनेट सेवा विस्तार गर्दै जाने प्रतिबद्धता डिशहोमले व्यक्त गरेको छ।

कम्पनीका अनुसार यो पहलले विपद्का समयमा प्रविधिको प्रभावकारी उपयोग गर्दै आपत्कालीन सञ्चार, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।