नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू गर्नुअघि पार्टीभित्रको मतभेद मिलाउन अन्तिम प्रयास सुरू गरेका छन् । यसअन्तर्गत सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शनिबार बेलुकी भेटवार्ता भएको थियो । भने भेटवार्ता सकारात्मक रहेको जनाइएको छ ।
सभापति थापाले आज बिहान ११ बजे नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । खड्का र कोइराला गत पुसको विशेष महाधिवेशनमा सहभागी थिएनन् ।
विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने बेग्लै महाधिवेशन गर्न कार्यतालिका पनि जारी गरेका छन् । कार्यतालिका जारी गर्ने चुनदेवी बैठकमा सहभागी नरहेका खड्का र कोइरालासँग सभापति थापाले कुराकानी गरेका हुन् ।
वडा अधिवेशन भदौ २४ गतेदेखि सुरू हुने कार्यतालिका छ ।
त्यसअघि सभापति थापाले देउवा, खड्का र कोइरालासँग भेटवार्ता गरी पार्टी एकताको अन्तिम प्रयास गर्ने जनाइएको छ । निवर्तमान सभापति देउवासँग यसअघि सभापति थापाले भेट्न खोजे पनि देउवा पक्षबाट समय उपलब्ध भएको थिएन ।
यसबीच सर्वोच्च अदालतले १५ औं महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिएन । त्यसपछि असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्ने तयारी कांग्रेसको छ ।
संस्थापनइतर पक्षका नेताहरूसँग सहमति जुटे अधिवेशन कार्यतालिका फेरबदल हुन सक्नेछ ।
देउवा र खड्काले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा पुनरवलोकन मागेकोमा अदालतले अनुमति निस्सा दिएको थियो ।
सभापति थापाले देउवा पक्षसँग पनि भेटवार्ताको तयारी गरेका छन् ।
देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइराला संयोजक बनाएर १५ औं महाधिवेशन तयारी समिति गरी बैठकहरू गर्दै समानान्तर गतिविधिसहित महाधिवेशन कार्यतालिका पनि जारी गरिसकेका छन् ।
केही नेताहरू भने बर्खा, बाढी पहिरोलगायत कारण अधिवेशन केही समय सार्नुपर्ने पक्षमा छन् ।






