काठमाडौं । धादिङको कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन नयाँ ट्र्याक निर्माणको काम अघि बढाइएको छ । त्यसका लागि सडक क्षेत्रमा रहेका रुख हटाउने काम सुरु गरिएको हो ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ ट्रयाक निर्माणका लागि दुवैतर्फबाट १८ जना जनशक्ति परिचालन गरिएको छ । रुख कटानसँगै सडक खुलाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

ADVERTISEMENT

रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने जनाइएको छ ।

ADVERTISEMENT

यसअघि मन्त्रालयले कृष्णभीरको पहाडतर्फ रहेको ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको थियो ।

नयाँ ट्र्याक खोल्ने क्रममा सेक्रिफिसियल ग्याबियन बक्स निर्माण तथा बोल्डरलाई हिलसाइडबाट तल झार्ने काम समेत गरिने भएको छ ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका विकल्पबारे सडक विभागले अध्ययन गर्नेछ ।

त्यसैगरी, कृष्णभीरको वैकल्पिक मार्गका रूपमा टनेल वा बाइपास सडक निर्माणको सम्भाव्यता अध्ययन तत्काल सुरु गर्ने निर्णय भएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

वैकल्पिक सडक तथा अन्य प्राविधिक समाधानको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीबाट आवश्यक विज्ञ सेवा लिने र आवश्यकताअनुसार सडक विभागसँग समझदारीपत्र गर्ने तयारीसमेत गरिएको छ ।