काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार भएकाहरूलाई धमाधम उद्धार भइरहेको छ । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ ।
सरकारले हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौंका विभिन्न अस्पतालहरूमा ल्याएको हो । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अहिले उपत्यकाका १३ वटा अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्राण्डी अस्पताल, हेम्स अस्पताल, प्रसूती गृह र एपीएफ अस्पतालमा उपचार भइरहेको छ । प्राधिकरणले ती अस्पतालको ठेगाना र सम्पर्क नम्बर पनि सार्वजनिक गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उत्खननको प्रगति राम्रो रहेको भन्दै दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएको छ । अन्यत्र पनि कतिपय आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
यही बेला चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् ।







