धनगढी । कैलालीमा पत्नीले प्रेमीसँग मिलेर पतिको हत्या गरेको खुलेको छ। घटनामा संलग्न भएको आरोपमा मृतककी पत्नीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३३ वर्षीय दीपक सुनार गत साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए। उनी जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएका थिए। त्यसपछि उनकी पत्नी यमुना सुनारले इलाका प्रहरी कार्यालय लम्कीमा पति हराएको भन्दै खोजतलासका लागि जानकारी गराएकी थिइन्।
खोजतलास तथा अनुसन्धानका क्रममा यमुनाले प्रेमीसँग मिलेर दीपकको हत्या गर्ने योजना बनाएको तथ्य खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट दीपकको अमरावती जंगलमा हत्या गरी शव मोटरसाइकलमा राखेर कर्णाली नदीमा फालेको खुलेको प्रहरीको भनाइ छ।
घटनामा संलग्न आरोपमा प्रहरीले यमुना सुनार, लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर–३ का ३२ वर्षीय रामराजेश महतो, कञ्चनपुर बेलौरी–९ का ५६ वर्षीय वीरेन्द्र राना र बेलौरी–८ का ३२ वर्षीय भीमा रानालाई पक्राउ गरेको छ।
उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेकाहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको समन्वयमा गरिएको हो।






