काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद्को प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र सचिवालयमा पुगेको पुष्टि गरेका छन्।

यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रमुख सचेतक तथा सचेतकमाफर्त सांसदहरूलाई संसद् बैठकमा कालो चस्मा नलगाउन आग्रह गरेका थिए। स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भए त्यसको प्रमाणस्वरूप स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखले बताएका थिए।

ADVERTISEMENT

त्यसपछि प्रधानमन्त्री शाहको स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने व्यहोराको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पुगेको हो।

ADVERTISEMENT

बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ। कार्यक्रममा ११ जना सांसदले प्रधानमन्त्री शाहलाई विभिन्न विषयमा प्रश्न गर्नेछन्।

ADVERTISEMENT

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ।

नियम ५७ मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था छ। त्यस्तै, नियम ५८ अनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखसमक्ष प्रश्नको विषयको लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सभामुख अर्यालले प्रधानमन्त्रीलाई प्रश्न सोध्न चाहने सांसदलाई भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न समय दिएका थिए। त्यसक्रममा ११ जना सांसदले प्रश्न दर्ता गरेका छन्।

यससँगै प्रधानमन्त्री शाह प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदा कालो चस्मा लगाउने विषयमा देखिएको विवाद स्वास्थ्य परीक्षण रिपोर्ट संसद् सचिवालयमा पुगेपछि टुंगिएको छ।