काठमाडौँ । प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ ।
सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेण्डर स्वीकृत गरेको हो।
बैठकले संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल गर्दै क्यालेण्डर स्वीकृत गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
स्वीकृत क्यालेण्डरका अनुसार प्रतिनिधि सभाको बैठकका भदौ १५, १६, १७, २२, २३ र २४ गते बस्नेछ । त्यसैगरी, बैठकमा संसद् बैठकलाई नियमित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्ने, महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूलाई प्राथमिकताका साथ अघि बढाउने तथा संसदीय कामकारबाहीलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ।





